![]() |
| प्रविन मल्ल |
म अंकसँग खेलिरहेको छु।
हो, म अहिले भन्न सक्छु – “१ ० -१ मा आएको छु।”
तर यो अंकको कुरा मात्र होइन, यो मेरो जीवनको कथा हो।
१ – मेरो उत्कर्षको क्षण
त्यो बेला म एकदमै आत्मविश्वासले भरिएको मान्छे थिएँ।
मेरो हातमा योजना थिए, आँखामा सपना, अनि मनमा ऊर्जा।
मानिसहरू मलाई हेरिरहेका थिए –
“यो त साँच्चिकै केही गर्छ,” भन्थे।
सपना पुरा हुने बाटोमा थिएँ म –
र म आफूलाई “१” ठान्थेँ,
पूरा, सक्षम, उज्यालो।
० – शून्यताको मौन संसार
अचानक, समय रोकिएकोजस्तो लाग्यो।
कुरा भएनन्, योजना अधुरा भए, मानिस हराए।
सबै तिर शान्ति थियो – तर त्यो शान्ति
कसैको साथ बिना सुनसान थियो।
मैले प्रश्न गरेँ –
“मैले कहाँ गल्ती गरेँ?”
तर उत्तर आएन।
त्यो एकदमै गहिरो शून्यता थियो –
जहाँ म थिएँ, तर कसैको नजरमा थिइनँ।
० बन्ने मतलब थियो – अस्तित्व त थियो, तर प्रभाव शून्य।
-१ – अध्यारोमा हराएको म
अनि एक दिन…
म आफैंलाई हराएको अनुभव गरेँ।
माया गर्नेहरू टाढा भए,
मेरो आत्मविश्वास झरेर धूलो भयो।
अरूले नभए पनि, म आफैले आफैंलाई
‘अयोग्य’ ठान्न थालेँ।
त्यो क्षण थियो – जब म “-१” बनें।
जीवनको ऋणात्मक पाटो
जहाँ सबै कुरा नकारात्मक लाग्छ।
तर… त्यहीँबाट सुरु भयो मेरो पुनर्जागरण।
म फेरि गन्दै छु
१, ०, -१…
तर म थाँती बसेको छैन।
म फेरि -१ बाट ० हुँदै, १ मा पुग्ने कोशिस गर्दैछु।
किनकि जीवन एक रेखा होइन –
यो चक्र हो, तर पछिल्लो घुम्ती अझ गहिरो बुझाइ ल्याउँछ।
म अब बुझ्दछु,
१ त केवल सफलता होइन,
० मौनता मात्रै होइन,
र -१ हार मात्र होइन।
यी सबै अनुभवका अंकहरू हुन्,
जसले मलाई पूर्ण बनाउँछन्।
“१ ० -१ मा आएको छु” –
तर अब म तयार छु,
२, ३, ५…
र अझ अगाडि जान।
