जिन्दगी, आफ्नै लडाइँ आफैसँग

 जिन्दगी भन्ने शब्द छोटो लाग्छ, तर यसको गहिराइ अपार छ। हामी हरेक दिन अनेकौं कुरासँग जुधिरहेका हुन्छौं—कहिले बाहिरी संसारसँग, कहिले आफ्नै मनसँग। तर सत्य के हो भने, सबैभन्दा ठूलो लडाइँ हामी आफैसँग लडिरहेका हुन्छौं।


लेखक: प्रविन मल्ल


हाम्रो डर, असमर्थता, इर्ष्या, आशंका, अल्छीपन, निराशा—यी सबै हाम्रो भित्रै बसिरहेका छन्। संसारले जे भने पनि, हामी तबसम्म हार्दैनौं जबसम्म हामी आफैसँग हार्दैनौं। जब बिहान उठ्दा हामी “आज केही नयाँ गर्छु” भन्ने आँट लिन्छौं, त्यही क्षण हामी आफ्नो भित्रको डरसँग लड्न सुरु गर्छौं।


हाम्रो सपनाहरू, आकांक्षाहरू—यी सब हाम्रो आत्मा भित्र छिपेका छन्। तर ती सपनाहरू पुरा गर्न हामीले पहिलो जित आफ्नो आलस्य र डरमाथि पाउनु पर्छ। हामीसँग शक्ति छ, तर त्यो शक्ति हामी आफैभित्र लुकेको हुन्छ। जसले आफ्नो भित्रको शत्रु—आलस्य, आत्म-सन्देह, नकारात्मक सोच—लाई जित्छ, उसले संसारमा जुनसुकै ठूलो जित पनि प्राप्त गर्न सक्छ।


कहिले काँही हामी आफैलाई प्रश्न गर्छौं—“के म सक्छु?” अनि त्यसको जवाफ फेरि आफैले दिनुपर्छ—“हो, म सक्छु।”


हामी दिन-प्रतिदिनको जीवनमा धेरै असफलता देख्छौं, तर ती असफलता होइनन्, ती त केवल सिकाइका चरणहरू हुन्। जबसम्म हामी भित्रैबाट हार मान्दैनौं, तबसम्म संसारको कुनै शक्ति हामीलाई रोक्न सक्दैन।


जब हामी थाकेर लड्न छाड्न खोज्छौं, तब आमाको मायालु बोली हामीलाई फेरि उठ्न प्रेरणा दिन्छ।

जब संसारले अविश्वास गर्छ, बाबाको मौन विश्वास हामीलाई ढाडस दिन्छ।

दाजु-बहिनी, श्रीमती, श्रीमान्, छोराछोरी…

यी सबै साथिहरू हामीलाई बारम्बार सम्झाउँछन्—

“तिमी हार्न सक्दैनौ, किनकि तिमी हामी सबैका लागि साहारा हौ।”


हामी कहिलेकाहीं भित्रैभित्रै भत्किन्छौं,

तर त्यसबेला छोरीको मुस्कान, छोराको ताली, श्रीमतीको साथ, बाबाआमाको आशीर्वादले हामीलाई फेरि खडा गराउँछ।

त्यो लडाइँ, जुन हामी बाहिर देखाउँदैनौं—परिवारले भने महसुस गर्छ।


साँचो कुरा के हो भने,

हामी आफैसँग जति लड्छौं, त्यो लडाइँमा जित हासिल गर्न परिवार नै हाम्रो सबभन्दा ठूलो शक्ति हो।


कहिलेकाहीँ हामी भन्छौं—“म एक्लो छु।”

तर त्यो सत्य होइन।

जुन घडी हामी आफैसँग हार मान्न लाग्छौं, त्यो घडी कसैले चिया लिएर नजिक आउँछ—

“बाबा, आराम गर्नुस् त, म छु नि!”

वा

“हजुरले सक्नुहुन्छ, म सधैँ साथमा छु।”

त्यसैले, परिवार केवल भावनाको बन्धन होइन, यो त आत्मबलको जरो हो।


अन्त्यमा, साँचो वीरता भनेको युद्ध मैदानमा लड्नु होइन, आफ्नो मनको मैदानमा आफैसँग लड्न सक्नु हो।

त्यसैले, आफ्नो कमजोर पक्षहरूसँग सामना गरौं, डरसँग आँखा जुधाऔं, र हरेक दिन आफैलाई जित्न खोजौं।


जिन्दगी, आफैसँगको लडाइँ हो—जहाँ जित पनि आफ्नो हो, र हार पनि।